४ हजार २ मिटर गहिराईबाट निकालियो ग्यासको स्याम्पल

शनिबार, २० पौस २०८१

काठमाण्डौ – दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ अर्थात् गहिरो खोतल्ने काम सकिएको छ । गएको वैशाख २८ गतेदेखि शुरू गरेको ‘ड्रिलिङ’ अन्तर्गत चार हजार दुई मिटर गहिरो खन्ने काम सकिएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले बताएका छन् ।

विज्ञले प्रत्येक दुई–दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेका छन् । ढुङ्गा र माटो परीक्षणपछि त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी तीन वटा थप अध्ययन हुनेछ ।

प्राकृतिक ग्यास हुनका लागि तय गरिएका मापदण्ड पूरा हुने सङ्केत प्राप्त भइरहेका लुइँटेलको भनाई छ । चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमूनाको विशिष्ट अध्ययन चीनमै गर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ । अन्तिम नतिजामा भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने लुइँटेलले बताए ।

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो ।