राष्ट्रपतिको शपथ नलिँदै डोनाल्ड ट्रम्पलाई नमिठो झड्का
काठमाडौँ – संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनु अघि अमेरिकी अदालतले सजाय सुनाउने भएको छ । ह्वाइट हाउसमा दोस्रो कार्यकालको शपथ लिनुभन्दा केही दिनअघि न्यूयोर्कको एक अदालतले फौजदारी अभियोगमा सजाय सुनाउने भएको हो ।
न्युयोर्कस्थित फौजदारी अदालतले न्यायाधीश जुआन मर्चनले १८ पृष्ठ लामो लिखित निर्णय जारी गर्दै ट्रम्पलाई आफ्नो सजाय प्राप्त गर्न जनवरी १० मा व्यक्तिगत रूपमा वा प्रतिनिधिलाई पठाएर सजाय सुन्न आदेश दिएका छन् ।
मर्चनले ट्रम्पको २०१६ को राष्ट्रपति अभियानको क्रममा गरिएको ‘हश मनी’ भुक्तानीको सम्बन्धमा झूटा कुरा गरेको अभियोग लागेको छ । उनको व्यापार रेकर्डमा ३४ वटा कारोबार शंकास्पद भएको खुलेको थियो ।
जनवरी २०२१ मा आफ्नो पहिलो कार्यकाल समाप्त भएदेखि ट्रम्पलाई धेरै कानुनी मुद्दा लागिरहेको छ । उनले सबै मामिलाहरूमा गल्ती अस्वीकार गरेका छन्।
तीमध्ये चारवटा आपराधिक अभियोगहरू थिए, एउटा कार्यालयबाट बाहिर हुँदा गोप्य कागजात लुकाएको, दोस्रो र तेस्रो सन २०२० को चुनावलाई उल्टाउने प्रयास गरेको र चौथो हश मनी भुक्तानी गरिएको भन्ने थियो ।
हश मनी मुद्दा वयस्क फिल्म कलाकार स्टर्मी डेनियललाई तिनी र ट्रम्पको सम्बन्ध रहेको आरोप लगाएपछि १ लाख ३० हजार अमेरिकन डलर दिएको बिषयमा केन्द्रित थियो।
आरोपीहरूले तर्क गरिरहेका छन कि ट्रम्पले २०१६ को चुनावमा प्रेसबाट हुनसक्ने हानीबाट जोगिनका लागि आफ्नो पूर्व वकिल माइकल कोहेनमार्फत गरिएको भुक्तानी लुकाउने प्रयास गरेको छन् ।