भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट

सोमबार, ३० बैशाख २०७६

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’लाई गैरन्यायिक थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट परेको छ । पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

नेता बमसहित दुई जनालाई गत बुधबार बाँके प्रहरीले गिरफ्तार गरेको थियो । उनको रिट माथिको छलफलका लागि दुबै पक्षलाई मंगलबार सर्वोच्वमा बोलाइएको छ । नेपाल सरकार, गृह मन्त्रालय समेतलाई विपक्षी बनाएको रिटमा मंगलबार विहान १० बजेका लागि पेशी तोकेको छ ।

बुधबार बाँकेको जानकी गाउँपालिका–६ गहनापुरबाट बमसँगै युवा नेता सत्यबहादुर शाहीलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ ।

रिट हाल्ने पत्रकार क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन् भने मोटिभेट न्युज डटकमका अध्यक्ष हुन ।