अब एमालेमा रहेनन् पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल

आइतबार, २१ पौस २०८१

काठमाडौं – नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको बताउँदै उनले भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे ।

च्यासलस्थित पार्टी कार्यालयमा आयोजिक एक समारोहका बीच उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए । खनालले दुई महिनापछि भएको चुनावमा काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालसँग परााजित भएका थिए ।

पछि तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवारी दिए । तनहुँ–१ मा पनि रास्वपा नेता स्वर्णिम वाग्लेसँग लज्जास्पद हार व्यहोरेका थिए ।