अष्ट्रेलियामा नेपाली महिलाको शंकास्पद मृत्यु

बुधबार, २४ पौस २०८१

काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । सिड्नीको पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि मृत्यु भएको हो ।

डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ‘त्रिपल ०’ मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो । यद्यपि, त्यो कलमा कुनै कुराकानी हुन सकेन, अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।

जतिबेला पारामाट्टा प्रहरीले दाहालका पति ४० वर्षीय रविन्द्र सुवेदीसँग सम्पर्क गरे, त्यतिञ्जेलमा प्रहरीलाई घटनाबारे सूचनासमेत आइसकेको थियो । प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि सुवेदीलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ र प्रारम्भिक जाँच गरेपछि तत्काल थप प्रमाण केही नदेखिएको भन्दै छाडेको थियो ।

दाहाल अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन् ।