राजा फर्काउने अन्तिम पहल गर्न लखनउ गएका ज्ञानेन्द्र रित्तोहात फर्किए

सोमबार, २९ पौस २०८१

काठमाडौँ – राजसंस्था फर्काउन अन्तिम पहल गर्ने भन्दै भारतको लखनउ पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले उत्साहजनक कुनै सन्देश ल्याउन नसकेको विश्वस्त स्रोतले दावी गरेको छ। ७ पुसमा लखनउ गएका उनले त्यहाँ कोकसलाई भेटे उनको सचिवालयले औपचारिक रूपमा भनेको छैन । तर, सचिवालयनिकट स्रोतका अनुसार, यसपटक शाह राजसंस्था पुनःस्थापनाका लागि निर्णायक पहलमा जुटेका थिए ।

लखनउ जानुअघि उनले राप्रपाका केही नेताहरूसँग राजनीतिक भेटघाट गरेका थिए । त्यस क्रममा भएको संवाद उद्धृत गर्दै राप्रपाका एक नेता भन्छन्, ‘यसपटकको भेटमा हामीले प्रस्टसँगै पार्टीको सरोकार भनेका छौँ । सरकार ७७ वर्षको होइबक्सियो । अब पनि केही गर्न नसकिए भोलि के हुन्छ ? हाम्रो त राजनीतिक एजेन्डा नै सकिन्छ ।’

राप्रपा नेताले आफ्नो पार्टी हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि निर्णायक आन्दोलनको तयारीमा रहेको बिफ्रिङसमेत गरेका थिए । उनीहरूका चासो सुनेपछि पूर्वराजा ज्ञानेन्द्रले लामो कुनै प्रतिक्रिया दिएनन् । ‘बुझेँ । बुझेँ । म लागिरहेको छु’ भनेका थिए ।

प्रस्ट नभने पनि राप्रपा नेताहरूको चिन्ता पूर्वराजा ज्ञानेन्द्रपछि कसलाई देखाएर राजसंस्था पुनर्स्थापनाको मुद्दा बोक्ने भन्नेमा देखिन्थ्यो । उनीहरूले उत्तराधिकारीका रूपमा छोरी वा नातिमध्ये को भन्ने पूर्वराजाबाटै सुन्न चाहन्थे । तर, त्यसमा ज्ञानेन्द्रले कुनै प्रतिक्रिया दिएनन् । सहभागी एक नेताका अनुसार, यति मात्र भने, ‘यो मेरो अन्तिम कोसिस हो । चारैतिरबाट राम्रो सन्देश आइरहेको छ ।’ पूर्वराजा शाहले चारैतिर भनेर दुई छिमेकी भारत र चीनतर्फ संकेत गरेका थिए ।

यो छलफलको केही दिनपछि लखनउ गएका पूर्वराजाले ल्याउने सन्देश सुन्न राजावादी, हिन्दुवादी र राप्रपा नेताहरू आतुर थिए । तर, शाह फर्किंदा त्यस्तो उत्साहजनक कुनै सन्देश ल्याउन नसकेको विश्वस्त स्रोतको दाबी छ । पूर्वराजा शाह भारतीय जनता पार्टी (भाजपा)को मातृ संस्थाका रूपमा लिइने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतलाई भेट्ने गरी लखनउ गएका थिए ।

भागवतसँगको भेटको तारतम्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मिलाएका थिए । नेपालबाट पूर्वराजा शाह आउने र नागपुरबाट आरएसएस प्रमुख भागवत लखनउ आउने समय मिलाएर उनले भेटको साइत जुराएका थिए । ‘पूर्वतयारीअनुसारै भेट भएको हो । तर, छलफल अपेक्षित हुन सकेन’, पूर्वराजा शाहको सचिवालयनिकट स्रोतको दाबी छ, ‘आरएसएस प्रमुखसँग राजाको कुरा मिलेन ।’

पूर्वराजाको सचिवालय स्रोतका अनुसार, लखनउमा शाह, आरएसएस प्रमुख भागवत र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको थियो । नेपालमा राजसंस्था पुनःस्थापनाका लागि भारतीय संस्थापनको साथ खोज्न पुगेका पूर्वराजा शाहलाई आरएसएस प्रमुख भागवतले भने निराश पारेका छन् ।