आजपनि छुटेनन् रवि लामिछाने
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् ।
काठमाडौं जिल्ला अदालतमा आजदेखि भएको थुनछेक बहस नसकिएकाले उनी आज पनि काठमाडौं प्रहरी परिसरको हिरासतमा पुगेका हुन् ।
उनीविरुद्धको थुनछेक बहस पर्सि मात्रै हुनेछ । भोलि सार्वजनिक बिदा भएकाले कम्तीमा थप दुई दिन उनलाई हिरासतमा राख्नुपरेको प्रहरीको भनाई छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा परेको मुद्दामा उनी हिजो बिहान अदालतमा उपस्थित भएका हुन् । न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई हिजोझैं आज पनि न्यायिक हिरासतमा पठाउने आदेश गरेका हुन् ।