स्वर्णलक्ष्मीको सफ्टवेयरमा भेटियो रवि फस्ने प्रमाण
काठमाडौँ — काठमाडौं जिल्ला अदालतमा सोमबार जाहेरवालाका तर्फबाट थुनछेकको बहस चलिरहेको थियो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको बहसमा फ्याटै रवि लामिछानेका वकिलले अधिवक्ता वा परिवारको जिम्मा लगाएर रविलाई छोड्नुपर्ने माग गरे ।
लामिछानेले भने आफू सुरुको दिन अदालतमै हाजिर हुन आएकाले हिरासत मुक्त हुन पाउनुपर्ने माग गरेका थिए । जवाफमा न्यायाधीश अधिकारीले आइतबारकै आदेशले निरन्तरता पाउने भन्दै मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले अर्को सुनुवाइ बुधबार हुने निर्णय सुनाए । सोमबार लामिछानेविरुद्ध ९ सरकारी वकिल र जाहेरवाला पक्षका दुई वकिलले बहस गरेका थिए । पीडितकै तर्फबाट बहस नसकिएकाले लामिछाने पक्षका वकिलको पालो आउन सकेन ।
सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस थालेका थिए । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन लामिछानेले गरेको बलियो प्रमाण रहेकाले उनलाई पुर्पक्षका लागि थुनामै पठाउनुपर्ने उनको जिकिर थियो । लामिछानेले स्वर्णलक्ष्मीमा खाता खोलेरै ऋण लिएको र त्यसको प्रमाण सर्भरमा रहेको सफ्टवेयरमा समेत भेटिएकाले उनी दोषी देखिएको कटुवालको तर्क थियो ।
उनीपछि जिल्ला न्यायाधिवक्ता चन्द्र सञ्जेल, बिना खड्का, सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि शर्मालगायतले बहस गरेका थिए । ठगी कसुरमा ७ वर्षसम्म र संगठित अपराधमा साढे तीन वर्षसम्म गरी साढे १० वर्षसम्म कैद हुने अभियोग लागेकाले कानुनअनुसार ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्ने फौजदारी न्यायको नियमलाई लामिछानेका हकमा पनि पालना गर्नुपर्ने उनीहरूको जिकिर थियो ।
स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेलगायत ३९ विरुद्ध काठमाडौंमा गत पुस २१ मा मुद्दा दायर भएको थियो । लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको ५ करोड ८ लाख रुपैयाँ अपचलन गरेको अभियोग छ ।