आलोचना र अपमान नै सफलताका सिँढी हुन्

शुक्रबार, ४ माघ २०८१

काठमाडौँ – एकपटक भगवान् बुद्ध भ्रमणका क्रममा आफ्ना शिष्यसँगै एउटा नयाँ राज्यमा पुगे  । जहाँकी रानी अत्यन्त क्रूर थिइन् । उनी जनतामाथि घोर अत्याचार गर्थिन् । उनी जनतालाई मात्र नभई, कुनै पनि साधु, सन्तलाई समेत देखिसहन्नथिन् ।

गौतम बुद्ध दलबलसहित आफ्नो राज्यमा प्रवेश गरेको खबर सुनेपछि रानीले आफ्ना सेवकलाई बुद्धको अपमान गरेर उनलाई राज्यबाट धपाउन आदेश दिइन् । रानीका सेवकले बुद्धलाई गाली गरेर उनको अपमान गर्न कुनै कसर बाँकी राखेनन् । तिनले नगरवासीका मनमा पनि बुद्धप्रति अनादरभाव बढाए । रानीका सेवकको उक्साहटमा लागेर नगरवासीले बुद्धलाई दुष्ट र ढोँगी भन्दै अपमानित गरे । तर, बुद्ध भने चन्द्रमाजस्तै शीतल र शान्त रहे, कुनै प्रतिक्रिया जनाएनन् । उनले आफ्नो आलोचना सुनेजस्तो व्यवहार देखाएनन् । तर, बुद्धको आलोचना सुनेपछि उनका अनुयायी भने क्रोधित भए । उनीहरूले बुद्धसित बिन्ती गरे– भगवान्, हामी यहाँबाट अन्यत्र यस्तो ठाउँमा जाऔँ, जहाँ हाम्रो कसैले अपमान नगरोस्, हाम्रो कीर्ति र यशको चर्चा होस्, हाम्रो स्वागत र सत्कार होस् ।

बुद्धले आफ्ना शिष्यको आग्रह सुने र भने– मेरा प्यारा मित्रगण, हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ हाम्रो स्वागत, सत्कार र जयजयकार हुनैपर्छ भन्ने छैन । मानिसले हामीलाई मान, सम्मान र प्रेम दिनैपर्छ भन्ने पनि छैन । कुनै स्थानमा हाम्रो अनादर हुन्छ भने त्यहाँका मानिसले हाम्रा कुरा सुनेर, विचारलाई स्विकारेर र हाम्रो भावना नबुझुन्जेल त्यहाँबाट जानुहुँदैन । मानिसको जीवनमा आलोचना र अपमानको निकै ठुलो महत्व हुन्छ । आलोचना र अपमान नै त व्यक्तिको सफलताका सिँढी हुन् ।

आलोचना र अपमानका सिँढी चढ्न डराउनुभयो भने तपाईं कहिल्यै सफल हुन सक्नुहुन्न । त्यसैले, अपमान र आलोचनाको डटेर सामना गर्न सक्नुपर्छ । कसैले तपाईंको अपमान गर्छ भने तपाईंले उसको पनि अपमान गर्ने होइन, शान्त रहेर अपमानको सामना गर्नुपर्छ । बदलामा तपाईंले आफ्नो अपमान गर्ने व्यक्तिलाई सम्मान दिन सक्नुपर्छ ।

बुद्धले थप केही दिन त्यस सहरमा बसेर अपमान सहन गरिरहे । बिस्तारै उनको ज्ञान र विचारको आभाले नगरवासीलाई आकर्षित गर्दै गयो । उनीहरूले बुद्धको महानताको अनुभव गर्दै गए । अन्ततः उनीहरू बुद्धका प्रशंसक बने ।