विराटनगरमा प्रचण्डको केटाकेटी पारा…
विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमा केटाकेटी पारा देखाएका छन् । शनिबार बिहान विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकन गर्न जाँदा केटाकेटी पारा देखाएका हुन् ।
पूर्वप्रधानमन्त्री भइसकेको मान्छे, प्रमुख प्रतिपक्षी दलको नेताले समन्वय गर्न नसक्दा दुःख पाएका छन् । आफ्नै कार्यकालमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा समावेश गरेको रंगशाला पुग्दा चाबी हुण्ड्याएको देखेर फरक्कै फर्किएका छन् । क्रिकेट मैदानको गेटमा चाबी लागेका कारण प्रचण्ड मैदान भित्र प्रवेश गर्न पाएनन् । बाहिरैबाट क्रिकेट मैदान हेरेर फर्किएका छन् ।
क्रिकेट मैदानमा बनाएको एउटा प्याराफिट माथि उभिएर उनले मैदान रंगशाला हेरे । रंगशालामा रहेका संरचनाका बारेमा किरण गिरीले उनलाई ब्रिफिङ गरेका थिए । प्रचण्डलाई मैदान प्रवेश गराउने तयारी थियो । तर क्यानका पदाधिकारी नपुगेपछि चाबी खुलेन् । ताला फोड्ने प्रयास भएपनि गलत सन्देश जाने भन्दै फोडिएन् ।
क्रिकेट मैदानको चाबी नेपाल क्रिकेट संघ मोरङ मोहम्दबाबु साद कुरेसीसँग छ । कुरेसी नेपाल क्रिकेट संघ केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीसँग झापामा छन् । ‘पूर्वप्रधानमन्त्री प्रचण्ड आउने कुरा सुरुमा जानकारी भएन, उहाँ पुगेपछि खबर गर्नुभयो, चाबी लिएर पुग्दा ढिलो हुन्छ होला ताला फुटाउँदा हुन्छ भनेको थिए,’ उनले भने,‘उहाँ आउने जानकारी पाएको भए सुरुमा चाबी लिएर जान्थ्यौं ।’ विगतमा मैदान भित्र भएका सामग्री हराएपछि बाहिरबाट ताला लगाउन थालेको उनले बताए ।
रंगशालाको अवलोकनपछि प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम राखेर राष्ट्रिय गौरवको आयोजनामा आफूले राखेको बताए । उनले गौरवको आयोजनाको काम छिटो गर्न उनले आग्रह पनि गरे ।