रविलाई छाड्न आदेश दिने न्यायाधीशको आलोचना गर्ने अधिवक्तालाई अर्को आपत

शुक्रबार, ११ माघ २०८१

काठमाडौँ – सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने न्यायाधीशको आलोचना गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना अभियोगमा सर्वोच्च अदालतमा मुद्दा परेको छ।

अदालतको अवहेलनामा हदैसम्म कारबाही माग गर्दै दिलबहादुर राईले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले रविलाई धरौटीमा छाड्न आदेश दिएपछि त्रिपाठीले उनीहरूमा कार्यक्षमताको अभाव देखिएको भनी टिप्पणी गरेका थिए।

जसविरुद्ध बहालवाला न्यायाधीशहरूले पनि बिहीबार संस्थागत विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी जम्मा गरी रिहा भएका हुन्।