झापाको अमला काण्डले लियो नयाँ मोड
काठमाडौँ – झापाको अमला काण्डले नयाँ रुप लिएको छ। श्रीमान् नै नभएको भनी घटना बाहिर ल्याइएको भए पनि विवाहित किशोरी विवाहित रहेको खुलेको छ । उनको ७ बर्षअघि विहे भएको र ६ बर्षिया छोरीसमेत साथमा रहेको प्रहरीले जनाएको छ ।
उनका श्रीमानले भर्खरै जन्मिएको सन्तान आफ्नो नभएको पाइएपछि आउजाउ गर्ने ७९ वर्षीय वृद्धमाथि आरोप लगाइएको छ । डिप्रेसनको औषधि खाइरहेकी किशोरीले अमला खुवाएर फकाएको आरोप लगाएकी छन् ।
झापाको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर ९ की एक किशोरीले केही दिन अगाडी शिशुलाई जन्म दिएकी थिइन् । त्यो विषय एक दिन, दुई दिन हुँदै बाहिर आयो। स्थानीयले पनि त्यो विषयलाई धेरै महत्त्व दिए। गाउँका सबै जना भेला भए र के भएको हो त्यो साँचो बताउनु पर्छ भन्दै किशोरीका बुबा र तीनै किशोरीलाई सोध्न थाले।
स्थानीय अग्नि दुलालले गाउँका सबैले सोधिखोजी गर्दै जाँदा परिवारका सदस्य र किशोरीका बुबाले अर्को गाउँका ७९ वर्षीय वृद्धको बच्चा भएको स्वीकार गरेको बताए। ती वृद्ध बेला बेला किशोरी भएको समयमा घरमा आउने गरेको समेत बताएको उनले सुनाए। ती वृद्ध बेला बेला किशोरीलाई अमला खाने भन्दै आउने गरेको त्यो परिवारले बताएको स्थानीयहरूको भनाई छ ।
२१ वर्षीय भनिएकी ती किशोरीले डिप्रेसनको औषधि खाँदै आएको उनका आफन्तले बताएका छन्। उनका बुबा रामप्रसाद दुलालले पहिलादेखि नै डिप्रेसनको औषधि खाँदै आएको जानकारी दिएका छन्। छोरीलाई अमला खान आउ भन्नेसम्म आफूले पनि थाहा पाएको दुलालले बताए।
शिवसताक्षी नगरपालिकाकाका उपप्रमुख नरमाया कार्कीले घटना बाहिर आएको जस्तो नभएको बताइन्। अनुसन्धानको क्रममा पीडित भनिएकी किशोरीको सात वर्ष पहिला नै दुर्गा पौडेलसँग विवाह भएको र उनको ६ वर्षकी एउटी छोरी समेत रहेको पाइएको प्रहरीले जनाएको छ। त्यो बिचमा उनी पटक पटक पहिलाको श्रीमान्सँग गएको भन्ने पनि सोधखोजको क्रममा आएको अनुसन्धानमा संलग्नहरू बताउँछन्।