ग्लोबल आईएमई बैंक बन्द गराउने नो केवलकार अभियन्ताको चेतावनी
काठमाडौँ – नो केवलकार अभियानका अभियन्ताहरुले ग्लोबल आईएमई बैंक बन्द गर्ने सम्मको अल्टिमेटम दिएका छन् । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा उनीहरुले आफ्नो माग पुरा नभए माघ २० गतेदेखि बैंकका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभामा रहेको शाखा बन्द गर्ने चेतावनी दिएका छन् ।
१० वटा पहिचानवादी संगठन र नौ वटा राजनीतिक दलका स्थानीय नेताले यस्तो चेतावनी दिएका हुन् ।
यस्तो अल्टिमेटमले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा चलिरहेको केबलकार निर्माणको लफडाले झन उग्र रुप लिने अवस्था देखिँदै छ । केबलकार निर्माणको विरोधमा रहेका पहिचानवादीहरुको संगठन र केही राजनीतिक दलहरु ग्लोबल आईएमई बैंकविरुद्ध खनिएका छन् ।
भोलिसम्ममा आफ्नो माग पूरा गर्न अल्टिमेटम दिँदै १० वटा पहिचानवादी संगठन र नौ वटा राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधिहरुले सम्बन्धित बैंक शाखाहरुलाई पत्राचार गर्दै मुक्कुमलुङमा भएको क्षतिको जिम्मेवारी बैंक तथा केबुलकार कम्पनीका अध्यक्षले लिनुपर्ने उल्लेख गरेका छन् ।
‘मुन्धुमी आस्थास्थल मुक्कुमलुङमा सैन्यकरण गरेर जबरजस्ती केबलकार निर्माण गर्न खोज्दा निहत्था मुक्कुमलुङ संरक्षण अभियन्ताहरुमाथि गोली हानिएको, काटिएको, कुटिएको, थुनिएको, मानव अधिकारको चरम उल्लंघन भएको र ताप्लेजुङमा मात्र नभएर देश विदेशमा समेत अशान्त वातावरण सिर्जना गरेको, भातृत्व, सद्भाव खलबलाएको हुँदा मुक्कुमलुङमा केबलकार निर्माण कार्य तुरुन्त बन्द गरी निर्माण सामग्रीहरु फिर्ता लैजानुपर्ने पत्रमा उल्लेख छ ।