रवि लामिछाने २१ दिनपछि पुनः हिरासतमा

बुधबार, २३ माघ २०८१

काठमाडौँ – रवि लामिछाने २१ दिनपछि पुनः हिरासत फर्किएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी आरोपमा चितवन जिल्ला अदालतले न्यायीक हिरासत पठाएको हो । थुनछेक बहस नसकिएपछि अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई बिहीबार १० बजे उपस्थित हुनेगरी प्रहरीको जिम्मा लगाएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको सम्बन्धमा रवि लामिछानेविरूद्ध चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा बुधबार लामिछानेको बयान सकिएर थुनछेक बहस सुरू भएको हो । मुद्दामा वादीका तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाको बहस सकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

त्यसैगरी जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि बुधबारको बहस पूरा भएको छ । जाहेरवालाका तर्फबाट एकजना वरिष्ठ अधिवक्तासहित चारजनाले बहस गर्दैछन् ।

प्रतिवादी रवि लामिछानेका तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन् । बाँकी कानुन व्यवसायीहरूको बहस बिहिबारबाट फेरि सुरू हुने अदालतका सूचना अधिकारी विश्वकर्माले बताए । एसअघि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। त्यसको २१ दिनपछि उनि आज फेरी हिरासतमा पुगेका हुन् ।