अमेरिकाबाट थप ३ जना नेपाली डिपोर्ट
काठमाडौं – अमेरिकाले थप ३ जना नेपाली विद्यार्थीलाई डिपोर्ड गरेको छ । ‘स्टुडेन्ट भिसा’मा अमेरिका मानबहादुर राई, ईश्वर गिरी र अन्जन धमलालाई अमेरिकाले डिपोर्ट गरेको हो ।
हालैमात्र टेक्सासको एक ग्यास स्टेशनमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई)ले छापा मारी उनीहरुलाई नियन्त्रणमा लिइएको थियो। गैरकानुनी तरिकाले काम गर्ने केही नेपाली विद्यार्थीहरूलाई आइसीईले नियन्त्रणमा लिएर नेपाल पठाएको श्रोतको भनाई छ । राईलाई कतार एयरलायन्सको जहाजबाट नेपाल फर्काइएको हो भने गिरी र धमलालाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौं पठाइएको स्रोतले बताएको छ।
यसअघि अमेरिकाले गोपाल ठकुरी, राजकुमार रोका, राहुल थापा क्षेत्री, यमप्रसाद तिवारी, घनश्याम खत्री, भुपाल विक, शेर शाङ्बु शेर्पा, सारुन श्रेष्ठलगायतलाई निष्कासन गरेको थियो।
राष्ट्रपति ट्रम्पले जनवरी २० मा सपथ लिएसँगै अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरेका छन्। गैरकानुनी तरिकाबाट बसिरहेका आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम पक्राउ गरी निष्कासन गरिरहेको छ।