हातमा हतकडी र खुट्टामा नेल बोकेर अमेरिकाबाट फर्काइएकाहरुको कथा
काठमाडौं – ४५ लाख तिरेर छ महिनाअघि अमेरिका हिँडेका खुशप्रीत सिंह पशुझै बाँधिएर स्वदेश फर्किएका छन् । घर, जग्गा, पशुधन बेच्दासमेत नपुगेर ऋण लिएर अमेरिका पुगेका उनलाई अमेरिकाले हातमा हतकडी र खुट्टामा नेल लगाएर भारत फर्काइदिएको छ ।
हरियाणा राज्यको कुरुक्षेत्र जिल्लाको एउटा गाउँका खुशप्रीत सिंह ४५ लाख रुपैयाँ खर्च गरेर छ महिनाअघि अमेरिका गएका थिए । जग्गा, घर र पशुधन ऋण लिएर खुशप्रीतलाई उनका बुवाले अमेरिका पठाएका थिए । खुसप्रीत भन्छन्, “म जनवरी २२ मा सीमा पार गरेको थिएँ र फेब्रुअरी २ मा फिर्ता पठाइयो ।”
उनी थप भन्छन्, “पानी पिएर जङ्गल पार गरेँ । जसले गाइडलाई छोडेर जान्छ, उ फर्कन सक्दैन । गाइडको पाइला पछ्याउन सक्नेले मात्र जङ्गल पार गर्न सक्छ, जो पछाडि रहन्छ त्यो सधैँभरि पछाडि रहन्छ ।”
अमेरिकामा पक्राउ परेपछि खुसप्रीतलाई १२ दिनसम्म ट्रान्जिट क्याम्पमा राखिएको थियो । उनी भन्छन्, “पहिलो दिन हामीलाई भारत फिर्ता पठाउने भने तर, हामीले सोच्यौँ कि उनीहरू मजाक गरिरहेका छन् । उनीहरू गम्भीर थिए तर, हामीले सोच्यौँ कि यो मजाक हो ।”
खुशप्रीतले आफूलाई सैन्य विमानमा कसरी चढाइएको थियो र त्यतिबेला कस्तो व्यवहार गरिएको थियो भनेर बताउँछन् । उनी भन्छन्, “जब उनीहरूले हामीलाई हतकडी लगाए, हामी गम्भीर भयौँ । सुरुमा उनीहरूले हामीलाई स्वागत केन्द्रमा लैजाँदै गरेको बताए । हामीले सोचेका थियौँ कि हामीलाई त्यहीँ छोडिनेछ, तर, जब हामी अवतरण गर्यौँ, हामीले हाम्रो अगाडि एउटा सैन्य विमान उभिरहेको देख्यौँ ।”
पछिल्ला केही दिनमा आफूले भोग्नुपरेको दुःखबाट खुशप्रीत निकै विचलित देखिन्थे । अमेरिका पुग्न धेरै पैसा खर्च भयो र उनले आशा व्यक्त गरे कि, “यदि हामीले हाम्रो पैसा फिर्ता पायौँ भने यहाँ केही काम गर्नेछौँ । तर, अब हामी बाहिर हेर्ने छैनौँ ।” खुशप्रीत सिंहका बुवा भावुक देखिन्थे । उनले रुँदै भने, “हामीलाई हाम्रो पैसा फिर्ता देऊ । पूरा रकम होइन भने कम्तीमा आधा त देऊ ।”
बाटोमा आइपर्ने कठिनाइ बारे उनले भने, “हात जोडेर म सबैलाई अनुरोध गर्न चाहन्छु कि कोही पनि गलत बाटोबाट अमेरिका नजानुहोस् र सम्भव भएसम्म बिल्कुलै नजानुहोस् । यदि तपाईंले यहाँ केही खाना पाउनुभयो भने त्यो खानुहोस् । त्यहाँ खाना छैन, तिनीहरूले तपाईंको पैसा खोस्छन् र सुरक्षा पनि छैन ।”