रविका कारण डुब्दै प्रभु बैंक
काठमाडौं – प्रभु बैंकका बचतकर्ताले धमाधम बचत निकाल्न थालेका छन् । रास्वपा सभापति रवि लामिछानेको मुद्धामा बैक ग्यारेन्टी बसेर बैंकलाई कमजोर बनाएको भन्दै हजारौँ बचतकर्ताले रकम निकालेका हुन् ।
चार जिल्ला अदालतमा रविका लागि झण्डै तीन करोडको जमानत बसेको बैंक सहकारी ठगको संरक्षणमा लागेको बचतकर्ताको ठम्याई छ । रविका लागि प्रभु बैंकले कास्की जिल्ला अदालतमा ६५ लाख, काठमाडौँ जिल्ला अदालतमा ६० लाख, रुपन्देही जिल्ला अदालतमा १ करोड र चितवन जिल्ला अदालतमा ५४ लाख बैंक ग्यारेन्टी बुझाएर रविलाई छुटाएको थियो ।
सहकारी ठगीको आरोपमा मुद्दा खेपिरहेका रवि लामिछानेको जमानी बसेकाले यो बैंक पनि डुब्ने डरले बचतकर्ताहरू त्रसित बनेका छन् । काठमाडौँको एक म्यानेजमेन्ट कलेजले सहकारीले जस्तै भविष्यमा प्रभु बैंकले पनि बचत फिर्ता दिन नसक्ने खतरा देखेर आफ्नो रकम निकालेको छ । काठमाडौँ बानेश्वरकी कविता अर्याल र पोखराका रामचन्द्र खनालले पनि बैंकप्रति विश्वास नभएको भन्दै रकम निकालेको बताए ।
केही समयअघि केही सहकारीहरूले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको घटनाले पनि ग्राहकहरूमा त्रास बढाएको छ। उनीहरू प्रभु बैंकको अवस्था पनि त्यस्तै हुन सक्ने आशंका गरिरहेका छन् । यसरी रकम निकाल्नेमा काग्रेस र एमाले समर्थक धेरै रहेको पाइएको छ ।
यता प्रभु बैंकले भने यसबारेमा केही प्रतिक्रिया जनाएको छैन । पैसा निकालेको विषयमा बुझ्न खोज्दा बैंकका सूचना अधिकारी मणिराम पोखरेल सम्पर्क आउन चाहेनन् ।