१ लाख बुझाउन नसक्दा रविका कार्यकर्ता जेल चलान

शनिबार, २६ माघ २०८१

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चार वटा अदालतमा झण्डै दुई करोड बुझाएर रिहा हुँदा उनको एक कार्यकर्ता जेल चलान भएका छन् । रविको समर्थनमा लागेर बरिष्ठ अधिवक्ता दिने त्रिपाठीमाथि हातपात गर्ने हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएका छन् ।

जैसी कारागार चलान भएपछि एमाले नेता महेश बस्नेतले टिप्पणी गरेका छन्। ‘रवि लामिछाने २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीनजना मध्य उनकै पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएछन्। नेता र कार्यकर्तामा विभेद किनरु प्रभु बैंक कता गएछरु चितवनका लालपुर्जा नौटंकीवला कता गएछन् ?’, उनले भनेका छन् ।

बिहीबार सकिएको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो।

अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै रविको ५४ लाखसहित २ करोड ७९ लाख धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसेको छ। रवि चितवन जिल्ला अदालतमा ५४ लाख, रुपन्देहीमा १ करोड, काठमाडौँ जिल्ला अदालतमा ६० लाख र कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ गरी २ करोड ७९ लाख रकम धरौटीमा बुझाएर रिहा भएका हुन्।

यस्तै साहारा सहकारी मुद्दामा चितवन जिल्ला अदालतले रविसँग ५४ लाख धरौटी मागेपछि उनका समर्थक घरजग्गाको लालपुर्जा र खाली चेक बोकेर सडकमा आएका थिए। अदालत परिसरभन्दा केही पर उनीहरूले हातमा लालपुर्जा र चेक देखाउँदै ‘नडराऊ रवि दाइ, पुर्जा हाम्रो हातमा छ’ भन्दै नारा लगाएका थिए।