प्रचण्डका कारण माओवादी घटकबिचको एकता अन्योलमा

बुधबार, ३० माघ २०८१

काठमाडौँ – माओवादी घटकबिचको एकता तत्कालका लागि टरेको छ । पुस २३ मा सम्पन्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले विचार मिल्ने वामपन्थी दलहरूसँग एकता र ध्रुवीकरणका लागि उच्चस्तरीय वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो ।

पार्टी एकताको प्राथमिकतामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) थिए । माघ २१ गते सम्पन्न माओवादीको पदाधिकारी बैठकले वार्ता समिति गठनबारे कुनै पनि  निर्णय नगरेपछि माओवादी घटकबिचको एकता टरेको हो   ।

माओवादीले आइतबार जारी गरेको परिपत्रमा उच्चस्तरीय वार्ता समिति गठन गरिएकोबारे कुनै जानकारी गराइएको छैन । यद्दपी पार्टी एकता सम्बन्धमा अर्को बैठकले निर्णय गर्न सक्ने माओवादीका एक नेताले बताए । ‘पदाधिकारी बैठकमा उच्चस्तरीय वार्ता समिति गठन गर्नेबारे छलफल भएको थियो तर निर्णय भएको छैन । सायद अर्को बैठकले यसबारे निर्णय गर्ला,’ति नेताले भने । अहिले समाजवादी मोर्चालाई नै सक्रिय बनाउने गरी तयारी गरेको उनको तर्क छ  ।

माओवादीसँग एकता गर्नका लागि एक वर्षअघि नै पार्टीबाट निर्णय गराएका विप्लवले प्रचण्डको चाहना नभएकाले एकता प्रक्रिया निष्कर्षमा नपुगेको आरोप लगाएका छन् । गतवर्ष वैशाखमा सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

गत चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी र नेसपाबिच एकता गर्नेबारे ४ बुँदे सहमति भएको थियो ।

अब यी दुई पार्टीबिच तत्काल एकताको सम्भावना नरहेको माओवादीका एक पदाधिकारीले बताए । अन्य पार्टीसँग एकताभन्दा पनि आन्तरिक रूपमा माओवादीलाई बलियो बनाएर लैजाने विषयमा निष्कर्ष निकालिएको ती नेताको भनाइ छ ।

अहिले अन्य पार्टीसँग एकताभन्दा पनि पार्टीलाई नै आन्तरिक रूपमा बलियो बनाएर लैजानु पर्नेमा धेरैको सुझाव आएको उनको भनाइ थियो । यद्यपि यसो भन्दैमा एकताको ढोका बन्द नभएको उनले प्रस्ट पारे । अहिलेका लागि समाजवादी मोर्चालाई नै बलियो बनाएर लैजानुपर्नेमा धेरैको सुझाव आएको उनले जानकारी दिए ।