नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न दिइएको निर्देशनप्रति महासंघको गम्भीर आपत्ति
काठमाडौँ – नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न दिइएको निर्देशनप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई क्याम्पस छाड्न दिएको निर्देशनप्रति आपत्ति जनाएको हो ।
विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले विश्वविद्यालय प्रशासनको गैरजिम्मेवार कार्यप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । ‘मृतक छात्राले केही समयअघि नै विश्वविद्यालय प्रशासनलाई आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी गराए तापनि कुनै कारवाही नभएको र अन्ततः यसै कारणले यस्तो दुःखद घटना घटेको देखिन्छ ।, महासंघका अध्यक्ष राजेन्द्र बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘साथै घटनापछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई जवरजस्ती क्याम्पस छोड्न बाध्य पार्नु अन्यायपूर्ण र गैर–जिम्मेवारपूर्ण कार्य गरेकोमा यस महासंघ त्यस्ता कार्य प्रति गम्भीर आपत्ति प्रकट गर्दछौँ ।’,
नेपालबाट हरेक वर्ष हजारौ विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने गरेको बताउँदै यस्ता घटनाले विद्यार्थीहरूको सुरक्षा, अधिकार र शैक्षिक भविष्यप्रति गम्भीर प्रश्न खडा गरेको भन्दै महासंघले सरकारसँग विभिन्न माग राखेको छ ।
