‘हनिमुन’ मनाउन गएका नवजोडी कुटाकुट गरेर फर्किएपछि….

आइतबार, ११ फाल्गुन २०८१

काठमाडौँ – ‘हनिमुन’ मनाउन गोहा गएका नवविवाहित जोडी कुटाकुट गरेर फर्किएका छन् । भारतको उत्तर प्रदेश राज्यका रत्नेश गुप्ताको जोडी विवाह भएको १० दिनपछि गोहा घुम्न गएका थिए । ‘हनिमुन ट्रिप’कै क्रममा झगडा र कुटाकुट हुँदा यो जोडी डिभोर्सको मुखमा पुगेको छ । नवविवाहित महिलाका तर्फबाट प्रहरीमा उजुरी परेपछि अदालतमा सम्बन्ध विच्छेदको मुद्धा चलेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार निचलौल क्षेत्र अन्तर्गत चमनगञ्ज पुल नजिकै घर भएका रत्नेश गुप्तासँग उजुरीकर्ताको विवाह भएको थियो । विवाह लगत्तै आफूलाई पतिको घरका सदस्यले उत्पीडन गरेको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् ।

तत्कालै आफूले यसबारे माइती पक्षलाई जानकारी गराएको र माइती पक्ष आएर सम्झाइ–बुझाइ मामिला शान्त पारेको उनले उजुरीमा प्रस्ट पारेकी छन् । १९ फेब्रुअरीमा पतिसँग आफू गोवामा हनिमुन मनाउन गएको तर त्यहाँ पनि पतिले आफूलाई कुटपिट गरेको ती महिलाको जिकिर छ ।

नवविवाहिताले प्रहरीलाई विवाह लगत्तै भएको उत्पीडन र गोवामा भएको मारपिटबारे जानकारी गराएको बताइएको छ, जसमा पतिले घाँटी थिचेर आफ्नो हत्या प्रयास गरिएको, दाइजो उत्पीडन गरेको लगायतमा उजुरी दिइएको छ ।