गृहमन्त्रीले जोगाइदिए कुलमानको पद

आइतबार, ११ फाल्गुन २०८१

काठमाडौँ – गृहमन्त्री रमेश लेखकका कारण नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पद जोगिएको छ । कुलमानलाई हटाउन उर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदमा राखेको प्रस्तावमा गृहमन्त्री लेखकले विरोध गरेपछि कुलमानको पद जोगिएको हो । फागुन ६ गतेको बैठकमा मन्त्री खड्काले कुलमान हटाउने प्रस्ताव पेस गरेका थिए ।

गत असारमा कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि कुलमानलाई हटाउन उर्जामन्त्री दीपक खड्का ज्यान फालेर लागेका छन्। उनलाई पदमुक्त गर्न मन्त्रालयले पटक पटक प्रस्ताव मन्त्रिपरिषदमा पर्याए पनि निर्णय भने हुन सकेको छैन।

मंगलबार (फागुन ६ गते) बसेको मन्त्रिपरिषदको बैठकमा पनि कुलमानलाई हटाउने प्रस्ताप पेश भएको तर कांग्रेसकै मन्त्रीहरुको विरोधका कारण रोकिएको पाइएको छ।

कुलमानलाई हटाउने विषयमा मन्त्री खड्काले लविङ गरेपछि कांग्रेसबाटै सरकारमा सहभागी भएका गृहमन्त्री रमेश लेखकले असहमति जनाएपछि निर्णय नभएको एक मन्त्रीले जानकारी दिए।

मंगलबारको मन्त्रिरिषद बैठक अघि मन्त्री खड्काले संसद् बैठकमा कुलमानप्रति असन्तुष्टि देखाउँदै सरकारलाई नटेरेको आरोप लगाएका थिए।