चुम्बन काण्डबाट विवादमा तानिएका चर्चित गायक उदितनारायण झालाई अर्को तनाव
काठमाडौँ – युवतीको चुम्बन काण्डबाट विवादमा तानिएका चर्चित गायक उदितनारायण झालाई अर्को तनाव थपिएको छ । मुम्बईस्थित घरमा जाँदा जेठी श्रीमतिलाई गुण्डा लगाएर निकालेपछि विषय अदालतसम्म पुगेको छ ।
झाकी जेठी श्रीमति रन्जनाले बुढेसकालमा सँगै बस्न चाहेको बताउँदै भारतको सुपौल पारिवारिक अदालतमा मुद्दा दायर गरेकी छिन् । उदितनारायणले गायिकासमेत रहेकी एयर होस्टेज दिपा गहतराजसँग दोस्रो बिहाह गरेका थिए ।
सप्तरीको राजविराजमा जन्मिएका र लामो समय काठमाडौँमा संघर्ष गरेका उनले सन् १९८४ मा रञ्जनासँग पहिलो बिहे गरेका थिए । तर बिहेको एक वर्षमै उनले गायिकासमेत रहेकी एयर होस्टेज दिपा गहतराज (झा)सँग दोस्रो बिहे गरे । अहिले उनै जेठी पत्नी रञ्जनाले सम्बन्ध तथा वैवाहिक अधिकार पुनःस्थापनाको लागि सुपौल पारिवारिक अदालतमा मुद्दा दायर गरेपछि उदितनारायण पुनः चर्चामा आएका हुन् ।
उदितनारायणले अधिकार हनन गरेको र सम्पत्ति हडपेको आरोपसहित मुद्दा दायर भएको छ । मुम्बईस्थित उदितनारायणको घरमा जाँदा आफूलाई गुण्डा लगाएर निकालिएको आरोप लगाउँदै रञ्जनाले हालसम्म आधिकारिक डिभोर्स नभएको र बुढेसकालमा सँगै बस्न चाहेको बताएकी छन् ।
उता उदितनारायणले भने रञ्जनाको चाहनासँग सहमत हुन नसकिने जवाफ दिएका छन् । आइतबार अदालतमा उपस्थित भएका उनले रञ्जनाले ‘ब्ल्याकमेल’ गरिरहेको पनि जिकिर गरे । रञ्जनालाई एक करोड भारु बराबरको घर र खेत दिएको, भरणपोषण खर्चवापत् मासिक १५ हजार भारु दिँदै आएकोमा सन् २०२१ देखि बढाएर २१ हजार दिन थालेको उदितनारायणको दाबी छ ।