यसकारण गुमनाम छन् रवि लामिछाने

मंगलबार, १३ फाल्गुन २०८१

काठमाडौं – किन गुमनाम छन् रवि लामिछाने ? चारवटा जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने पार्टीका कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म देखिएका छैनन् । राजनीतिक र सामाजिक विषयमा सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिइरहने लामिछने थुनामुक्तपछि गुमनाम छन् । वीरगंजको सानो पाइला सहकारीको मुद्दा अदालतमा दर्ता भएर प्रक्रियामा नगएसम्म पार्टी गतिविधिमा सक्रिय हुनुहुनेछ रवि निकट श्रोतको भनाई छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण उजुरीका आधारमा कात्तिक–२ मा पार्टी कार्यालयबाटै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यसयता पार्टी कार्यालय फर्किएका छैनन् ।

पार्टीका कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म कतै पनि उनको सक्रियता देखिँदैन । राजनीतिक र सामाजिक विषयमा सामाजिक सञ्जालमा पोष्ट गर्दा कार्यकर्ता र समर्थकबाट वाहवाही कमाउने लामिछाने थुनामुक्तपछि गुमनाम छन् । लामिछानेको अनुपस्थितिमा पार्टी कार्यवाहकहरूले चलाइरहेका छन् । कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल (डीपी), कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्ता मनिष झा पार्टी गतिविधिमा सक्रिय देखिन्छन् ।

सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बनमा छ । सांसद पदबाट निलम्बन फुकुवाका लागि उनले सभामुख देवराज घिमिरेलाई संसदको नयाँ अधिवेशनको पहिलो बैठक बस्ने दिन गत माघ १८ गते निवेदन दिएका थिए । लामिछाने अदालतमा हाजिर हुने, हिरासत बस्ने, सुनुवाइमा सहभागी हुने र धरौटी बुझाउनेबाहेक अन्य गतिविधिमा संलग्न देखिएका छैनन् । थुना मुक्तपछि उनको सांसद पद निलम्बित भए पनि पार्टी गतिविधिमा अदालतको आदेशले कुनै प्रतिबन्ध लगाएको छैन । तर उनी पार्टी गतिविधिमा सहभागी देखिँदैनन् ।