संसद भवनबाट हराएकी एक सांसद महाकुम्भ मेलामा भेटिईन्
काठमाडौँ – बानेश्वरको संसद भवनबाट हराएकी एक सांसद महाकुम्भ मेलामा भेटिएकी छिन् । नेकपा एमालेकी समानुपातिक सांसद सरस्वती सुब्बा संसद बंक गरेर भारतको प्रयागराजस्थित कुम्भ मेलामा भेटिएकी हुन् ।
सामान्यतया माननीयहरुले देश छोड्दा कारणसहित संसदलाई जानकारी गराउने, आफ्नो दलका नेता तथा सचेतकलाई सूचना दिनुपर्ने व्यवस्था भएपनि अटेर गरेर उनी प्रेमीसँग प्रयागजराज गएको हल्ला चलेको छ ।
फागुन ४ गते आइतबार संसद सचिवालयमा आयोजित लेखा र कृषि समितिको गोष्ठीमा समेत सांसद सुब्बा अनुपस्थित थिइन् । सो समितिको सदस्य हुन् । गोष्ठीमा विधेयकहरुलाई द्रुतगतिमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो । बैठकमा उनलाई नदेखेपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले खोजविन गर्दा कुम्भ गएको पत्ता लागेको थियो ।
सरकारले ल्याएको अध्यादेश पारित गर्न तम्तयार भई बस्नु पर्ने सांसद अनुपस्थित देखेपछि सचेतकको टाउको दुख्ने नै भयो । आइतबारको बैठकमा एमाले, काँग्रेस र रास्वपाका केही महिला सांसदले सुब्बा हराएकोमा चासो व्यक्त गरेका थिए ।
सांसदहरु सकभर अनुपस्थित हुने, भए पनि पुरै समय नबस्ने, बैठकमा कोरम नपुग्ने, बैठक प्रभावित भई महत्वपूर्ण विषयहरु थाती हुने गरेका छन् भने माओवादी, रास्वपा र राप्रपाले पुरै समय बसेर सरकार र एमाले तथा काँग्रेसविरुद्ध भाषण दिएका वखत त्यसको प्रतिवाद गर्ने कोही नहुने भएपछि सांसदहरुको आलोचना बढिरहेको अवस्था छ । यसअघि पनि यसैगरी अधिवेशन शुरु भएकै दिन सुनिता बराल अफ्रिकाको मालावी गएकी थिइन् ।