अमेरिकाबाट २६२ जना नेपाली डिपोर्ट
काठमाडौँ – पछिल्लो ६ वर्षमा अमेरिकाले २ सय ६२ जना नेपालीलाई डिपोर्ट गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको तथ्याङ्कअनुसार २०७५ पछि २६२ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको हो । नेपालबाट अवैध बाटो हुँदै अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भन्दै ब्युरोले सूची बनाएर उनीहरुको अनुसन्धान गरिरहेको छ ।
अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली बुधवार काठमाडौँ आएका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । एक जना महिला व्यावसायिक उडान मार्फत काठमाडौँ आएकी छन् ।
डिपोर्ट भएकाहरूलाई छाड्न ४ जना अमेरिकन प्रहरी काठमाडौँ आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू बताउँछन् ।
काठमाडौँबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पठाउन कम्तीमा ५० जना सक्रिय रहेको मानव बेचबिखन ब्युरोका एक जना अधिकृतले बताए ।