माछापुच्छ्रे बैंकले रोक्का गरिदियो आन्दोलनकारीको बैंक खाता

शुक्रबार, २३ फाल्गुन २०८१

काठमाडौं – पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माणको विरोधमा लागेको आरोपमा माछापुच्छ्रे बैंकले सरस्वता लिम्बू (सरु) को बैंक खाता रोक्का गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको पत्रका आधारमा बैंकले खाता रोक्का गरेको हो । अभियन्ता लिम्बूको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘रकम निकाल्न जाँदा तपाईको खाता रोक्का भएको छ भन्ने जानकारी आयो, तर पत्र माग्दा बैंकका कर्मचारीले चलानी नम्बर मात्रै देखाए, प्रहरीको पत्र हेर्न दिएनन् ।’

बैंक खाता रोक्का गरिएकी पीडित लिम्बू यसअघि सरकारसँग भएको वार्तामा आन्दोलनकारीका तर्फबाट वार्तासमिति सदस्य थिइन् ।

माछापुच्छ्रे बैंकका सूचना अधिकारी सुनील खतिवडाका अनुसार प्रहरीले कुनै व्यक्तिको खाता रोक्का गरिदिनका लागि राष्ट्र बैंकलाई पत्र लेखेपछि राष्ट्र बैंकले सिफारिस गरेमा त्यस्तो व्यक्तिको खाता रोक्का गर्न सकिने कानूनी प्रावधान रहेको छ ।