अमेरिकाले फेरी गर्यो तीन जना नेपालीलाई निष्कासन
काठमाडौं – अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अमेरिकी अदालतको फैसलालाई अटेर गरेर लुकीछिपी बस्ने ती नेपालीहरूलाई निष्कासन गरिएको हो।
निष्कासनमा पर्नेमा खड्का, गुरुङ र सुवेदी थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई गत साता एयर इन्डियाको जहाजबाट नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ।
मानव तस्करको सहयोगमा उनीहरू अमेरिकामा अवैध प्रवेश गरेका थिए। केही समयपछि उनीहरूको मुद्दा अदालती प्रक्रियामा गएको थियो। त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले कागजपत्रमा कैफियत फेला पारेपछि तीनैजनालाई पीआर दिन अस्वीकार गरेको थियो।
अदालतले उनीहरूलाई निष्कासनको आदेश पनि सुनाएको थियो। अदालतको आदेश अवज्ञा गर्दै उनीहरू गैरकानुनी तरिकाले अमेरिकामा लुकीछिपी बस्दै आएका थिए।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेपछि उनीहरूलाई त्यहाँको आइसीई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जनाको ट्राभल डकुमेन्ट बनाएर आइसीई प्रहरीले उनीहरूलाई नेपाल फर्काएको थियो।