एमालेबाट वडाध्यक्ष जितेका तिलक युक्रेनद्वारा मारिए
दाङ – नेकपा एमालेबाट वडाध्यक्षमा चुनाव जितेर एक कार्यकाल वडा सरकार चलाएका सुनछहरी गाउँपालिका–५ का तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको हो । रुसी सेनामा कार्यरत उनी युक्रेनी सेनाको गोली लागेर मारिएका हुन् ।
घरमा एक छोरी, एक छोरा र श्रीमती रहेका उनी २०८० असोजमा रुस हिँडेका थिए । ४४ वर्षीय तिलकको मृत्युको खबर उनको परिवारलाई साथीभाइले फोन गरेर दिएको उनका आफन्तले बताएका छन् ।
तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले राजीनामा दिन लगाएका थिए । बेगमका अनुसार तिलक २०६३/०६४ को समयमा अवैध तरिकाले इराक जान खोजेका थिए । तर पक्राउ परेर बीच बाटोबाटै फर्किएका थिए । नेपाली सेनाको जागिर छाडिसकेको र वैदेशिक रोजगारीमा जाने प्रयाससमेत सफल नभएपछि उनी केही समय तनावमा थिए ।
कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरी गाउँमा सक्रिय राजनीति थालेका थिए । उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्जसमेत थिए । ०७४ को चुनाव त जिति पनि हाले । तत्कालीन समयमा ७ वटा वडा रहेको सुनछहरी गाउँपालिकामा २ वडाध्यक्षमा नेकपा एमालेले जितेको थियो । ०७९ को निर्वाचनमा पनि उनी दोहोरिन चाहेका थिए । ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए । त्यसपछि उनी रुस हिँडेका थिए ।
तीर्खका आफन्त बेगमका अनुसार उनले आफू रुस जान लागेकोबारे परिवारलाई खबरसमेत गरेका थिएनन् ।