मानवता विरोधी अपराध गरेको आरोपमा पूर्वराष्ट्रपति पक्राउ

मंगलबार, २७ फाल्गुन २०८१

काठमाडौं – मानवता विरोधी अपराध गरेको आरोपमा पूर्वराष्ट्रपति पक्राउ परेका छन् । फिलिपिन्सका ७९ वर्षीय पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मंगलबार हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

२०१६ मा सत्ता सम्हाल्दा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए । उनको ‘ड्रग्सविरुद्धको युद्ध’को क्रममा हजारौं लागुऔषध व्यापारीहरू मारिएका थिए । यसबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको थियो ।

यसमा दोषी देखिएका सीमित व्यक्तिहरु प्रक्राउ परे पनि पूर्वराष्ट्रपति दुतेर्तेले उन्मुक्ति पाउँदै आएका थिए । सन् २०२२ मा सत्ताबाट बाहिरिए पनि उनी फिलिपिन्समा एक प्रभावशाली राजनेता मानिन्छन् । दुतेर्ते हङकङमा आगामी मध्यावधि चुनावका लागि आफू समर्थित उम्मेदवारको प्रचार र्‍यालीमा सहभागी हुन पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।

यसअघि उनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरे गिरफ्तारी दिन तयार रहेको बताएका थिए ।