युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसले अमेरिकासंग राख्यो दुई सर्त

बिहिबार, २९ फाल्गुन २०८१

काठमाडौँ – युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसले दुई वटा सर्त राखेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग रुसले तीन बर्षदेखि जारी युद्ध अन्त्यका लागि युक्रेनलाई नेटोको सदस्य बन्नबाट रोक्ने र क्रिमियासहित युक्रेनका पाँच क्षेत्रहरूमा रुसको कब्जालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनु पर्ने सर्त राखेको छ ।

यी सर्त मान्न अमेरिका तयार भएपनि युक्रेनले सहमति जनाएको छैन। युक्रेनसँग युद्धविराम सम्झौताका लागि अमेरिकासमक्ष दुई सर्त राखेका छन्।

तर, रुसले यी मागहरू अमेरिका र नेटो समक्ष पहिले पनि धेरै पटक उठाएको थियो । आफ्नो एक टुक्रा भूमि पनि रुसलाई दिन्न भनेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्दै आएका छन् । यस्तो जेलेन्स्कीले अब के गर्लान् भन्ने धेरै चासो भएको छ । जेलेन्स्की युद्धविरामको पक्षमा छन् । तर पुटिनको अडान उनका लागि समस्या बन्ने देखिएको छ ।

यसअघि साउदी अरबमा युद्धविरामको विषयमा युक्रेन र अमेरिकाबीच सहमति भएको थियो । यसपछि अमेरिकाले रुसलाई ३० दिने युद्धविरामको योजना पठायो । तर पुटिनको ढिलासुस्तीलाई ध्यानमा राख्दै राष्ट्रपति ट्रम्पले उनलाई स्पष्ट चेतावनी नै दिएका थिए ।

रुस युद्धविराममा सहमत हुने आशा आफूले गरेको ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए । अमेरिकी प्रतिनिधिहरू रुस जान लागेको पनि उनले बताएका थिए । युक्रेनसँग रुसको ३० दिने युद्धविराम सम्झौता पुटिनलाई पठाइएको छ । रुसले युक्रेन विरुद्ध युद्ध जारी राख्यो भने गम्भीर परिणाम भोग्नुपर्ने भन्दै ट्रम्पले पुटिनलाई पहिले नै चेतावनी दिएका थिए।