यत्ति गर्नुस् लोकसेवामा नाम निक्लिने पक्का
काठमाडौं – भनिन्छ, सफलताको भोक लागेपछि मात्रै मानिसले आफ्नो सपना पूरा गर्न सक्छ । सफलताको सिँढी चढिरहेकी अति सीमान्तकृत समुदायकी आशा माझीको भोगाइ पनि ठ्याक्कै त्यस्तै छ ।
लोकसेवा पास गर्न पाठ्यक्रमसँग लभ गर्नुपर्ने चाँगुनारायण अस्पतालकी अधिकृत आशा माझीले खुलाएकी छिन् । खोला किनारामा सीमित पुर्खाहरूको सीमा तोडेर अधिकृत बनेकी माफीले लोकसेवाको सेलेबससँग लभ परेपछि मात्र नाम निस्किने संलेषण गरेकी छिन् । लोकसेवा पास गर्न क्याम्पस र स्कूलमा पढेको जस्तो नभएको उनको अनुभव छ ।
उनी आफ्नै भोगाइ सुनाउँदै भन्छिन्, ‘मेरो एक जना हाकिमले भन्नुहुन्थ्यो, म यो नगरपालिका त आफ्नै परिवारको मान्छे ल्याएर नै चलाइदिन्छु । त्यति जना हामी निजामती क्षेत्रमा छौँ । उहाँले त्यति भनिरहँदा मैले भनेकी थिएँ, मेरो त समुदाय भरिकै मान्छे ल्याउँदा पनि यो अफिस चल्दैन ।’
आशा बाल्यकाल सम्झँदै आमासँग बैङ्क जाँदा त्यहाँका कर्मचारी देखेपछि उनीहरू जस्तै जागिर खानुपर्छ भन्ने लागेको बताउँछिन् । ‘बैङ्कर र बिजुलीको बिल तिर्न जाँदा पैसा काट्नेहरूलाई देख्दा भविष्यमा अफिसर बन्नुपर्छ भन्ने सोच पलाउँथ्यो,’ उनी भन्छिन् ।
यद्यपि, परिवारमा दाइहरू पहिला नै प्रहरी, सेनातिर भएकाले उनलाई पनि त्यतै जागिर खानुपर्छ भनेर भनिन्थ्यो । ‘परिवारमा सरकारी जागिर भनेको आर्मी मात्र थाहा थियो । त्यसैले मलाई पनि आर्मी नै बन्नुपर्छ भन्नुहुन्थ्यो,’ उनी सुनाउँछिन् ।
स्नातकोत्तर पहिलो वर्ष पढिरहँदा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा शान्ति निर्माण परियोजनामा अफिसर लेभलकै कर्मचारी माग गरियो । उनले त्यहाँ फारम भरिन र परीक्षा दिइन् । स्नातकोत्तरसँगै अफिसरको तयारी गरिरहेकी आशालाई सो परियोजना सरकारी सेवामा हाम फाल्ने पहिलो खुड्किलो बन्यो ।
दुई वर्षे अवधिको परियोजनामा काम गरिसकेपश्चात् उनले लोकसेवाको तयारीमा आफूलाई समर्पण गरिन् । त्यही दौरानमा फेरि २०७२ सालमा उनले सहायक महिला विकास निरीक्षकमा नाम निकालिन् । त्यसै क्रममा उनको विवाह पनि भयो । साथै केही वर्षमा उनी आमा बनिन् ।
आमा बनेपछि आशाको दैनिकी घर-परिवारमा केन्द्रित भयो । यद्यपि उनी त्यसैमा सीमित भइनन् । सरकारी जागिरको भोकमा रन्थनिएकी आशाले निरन्तर मेहनत गरिन् । फलस्वरूप २०७६ सालमा अधिकृतमा नाम निकाल्न सफल भइन् ।
लोकसेवामा पास गर्न कसरी पढ्नुपर्छ, भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘जब लोकसेवाको सेलेबससँग लभ पर्छ तब मात्र पास भइन्छ, नाम निस्किन्छ ।’ क्याम्पस र स्कूलमा पढेको जस्तो पढेर लोकसेवा पास नभइने उनको अनुभव छ।
नेपाल भ्यू का लागि पुजा माझीले तयार पारेको सामाग्रिबाट साभार