समाजवादी मोर्चाको प्रदर्शनकै दिन राजावादीहरु खुकुरी बोकेर आउने

बुधबार, ६ चैत्र २०८१

काठमाडौं – समाजवादी मोर्चाको प्रदर्शनकै दिन राजावादीहरु खुकुरी बोकेर आउने भएका छन् । बुधबार बिहान पत्रकार सम्मेलन गर्दै राजावादी अभियान्ता दुर्गा प्रसाईंले गणतन्त्रको अन्त्य नगरी नागरिकले सुख नपाउने भन्दै चैत १५ गते हुने प्रदर्शनमा खुकुरीसहित प्रर्दशनमा आउन आह्वान गरेका छन् ।

उनको यो आह्वानले मुढभेडको खतरा बढेको छ । त्यही दिन मोर्चाले काठमाडौँ १ लाख जनतासहित प्रदर्शनको तयारी गरेको छ । वर्तमान व्यवस्था विरोधी अभियान चलाएका प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेकोकटाक्ष समेत गरेका छन्  ।

उनले लिङ्देन र थापाहरूले आफू नपढेको र केही नबुझ्नेजस्तो व्यवहार गरेर कहिले के समिति बनाउने त कहिले के गर्ने गरेको भन्दै आक्रोश पोखेका हुन ।

प्रसाईंले भने, ‘हिजो हामीले धेरै राष्ट्रवादी शक्तिसँग अनुनय विनय गर्‍यौँ । राजा र हिन्दु राष्ट्रको पक्षमा उभिएका कमल थापा र राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र धवलशम्शेरसँग अनुनय विनय गर्‍यौँ तर उहाँहरू धेरै ठुलो राजनीति गर्नुहुँदो रहेछ। ‘

उनले आफू राजाको नजिक हुनेभन्दा पनि जनताको नजिक हुने भन्दै राजा र जनताको आँखाबाट आशु झर्न नदिने समेत बताए ।