महायज्ञको नाममा पालिका अध्यक्षले लगाए दलित परिवारको उठीबास

बिहिबार, ७ चैत्र २०८१

काठमाडौँ – सिराहामा महायज्ञको नाममा दलितको घरमा डोजर लगाएर उठीबास लगाइएको छ।  महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले दीपकको घर भत्काउन आदेशपछि तुरुन्तै गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर महायज्ञको नाममा दलितको उठिबास लगाएका हुन् ।

दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको छ ।

औरहीस्थित हुलाकी सडकछेउमा चैत १७ देखि हुन लागेको ‘विष्णु महायज्ञ’ का लागि पूजास्थलनजिकै रहेको दलित परिवार अहिले विस्थापित भएको छ । आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएको छ ।

गाउँपालिकाका अध्यक्षकै नेतृत्वमा जातीय विभेदपूर्ण व्यवहार गरी गैरकानुनी हर्कत र अन्याय भइरहँदासमेत गाउँमा रहेको चौकीका प्रहरी र स्थानीय अगुवाले मौन स्वीकृति जनाएका छन् ।

औरही गाउँपालिकामा सरसफाइको काम गर्ने दीपक मलिक डोम र अनिता मलिक डोमले जागिरबाट निकालिने डरले उजुरीसमेत गर्न सकेका छैनन् । अछुत भन्दै डोम समुदायका दीपक र अनितासहित ७ जनाको परिवारलाई महायज्ञ हुने स्थानबाट करिब ५ सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् ।

३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गत फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो । यतिसम्म कि, अछुत बस्दै आएको भन्दै उनीहरूको घर भएको स्थानको माटोसमेत खनेर फालिएको छ ।