शक्तिशाली भूकम्पमा परि डेढ दर्जन नेपालीको मृत्यु

शनिबार, १६ चैत्र २०८१

काठमाडौँ – म्यान्मारमा हिजोको भूकम्पमा परेर हालसम्म १७ जना नेपालीभाषीको निधन भएको छ । तीमध्ये नौ जनाको मात्रै शव भेटिएको जनाइएको छ ।

बर्मेली नेपाली साहित्यकार लक्ष्मण न्यौपानेले मृतक अन्य नेपालीभाषीको शव खोजी भइरहेको जानकारी दिए । ‘सबैभन्दा धेरै क्षति मान्डेलेमा भएको देखिन्छ । निधन भएका नेपालीभाषीहरू पनि उतैतिरका हुनुहुन्छ’ उनले भने ‘नौजना नेपालीको शव फेला परेको छ । देवी सिंखडाका छोरा खतिवडा, दाहाललगायतका परिवारका सदस्यहरूको निधन भएको छ ।’

हिजोको ७. ७ रेक्टरस्केलको भूकम्पले थाइल्याण्डमा पनि थुप्रै जनधनको क्षति गराएको छ । म्यान्मारमा हालसम्म एक हजारभन्दा धेरैको शव भेटिएको छ । सञ्चारमाध्यमहरूका अनुसार त्यहाँ अहिले पनि खोजी, उद्धार र राहतको काम भइरहेको छ ।

भूकम्पमा भएको भौतिक क्षतिको आधारमा दशौं हजार मानिस मारिएको हुनसक्ने उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले जनाएका छन् ।