प्रहरीले टोखाबाट समातेको २५ करोड बढी रकमको मालिक पत्ता लाग्यो

बुधबार, २० चैत्र २०८१

काठमाडौँ – प्रहरीले टोखाबाट समातेको २५ करोड बढी रकम मालिक पत्ता लागेका छन् । इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेल रहेको खुलेको छ ।

उनी हाल काठमाडौँको टोखा नगरपालिका–१० बस्दै आएका छन् । उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । राजश्व अनुसन्धान विभागले चीनतर्फ निकासी हुन लागेका २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लगाएको छ ।

विभागको जासुसी तथा विज्ञ टोलीले सीसीटिभी फुटेज, डिजिटल डिभाइस, बैङ्क कारोबार तथा सीडीआर विश्लेषण गरेर वास्तविक मालिक पहिचान गरेको विभागको महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए ।

यसअघि गत चैत्र ४ गते राति ११ बजे प्रहरीले काठमाडौँका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको थियो ।

अमेरिकी डलर, युरो लगायतका मुद्राहरू रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । सो क्रममा ट्रकका चालक सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षी कुसाङ लामा पक्राउ परेका थिए ।