आजदेखि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड बन्द

बुधबार, २७ चैत्र २०८१

चितवन – पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको दाउन्ने क्षेत्र आजदेखि बन्द हुने भएको छ । सडक मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आउ–जाउ बन्द हुने आयोजनाले जनाएको छ ।

सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो । त्यसपछि पनि २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा सडक बन्द गरिने छ ।

यी मिति र समय अवधिमा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन । बर्खायाम सुरु हुनुभन्दा अगाडि नै राजमार्गमा सहज यात्राका लागि दाउन्ने खण्डमा सडक बन्द गरेर सडक विस्तारको काम गर्न लागिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।