नेपाली विद्यार्थीसहित अमेरिकामा अध्यनरत ३ सय विद्यार्थीको भिसा रद्द
काठमाडौँ – अमेरिकाले अध्ययनका लागि अमेरिका गएका ३ सय विद्यार्थीहरुको भिजा रद्द गरेको छ। आन्दोलन र सामाजिक सञ्जालमा टिप्पणी गर्ने ३ सय विद्यार्थीहरुमाथि निगरानी गर्दै भिसा रद्दगर्ने भएको हो।
आपराधिक गतिविधिमा संलग्न भएका तथा कानुनविपरीतका कार्यमा जोडिएकाहरूको खोजी गरी उनीहरूको अध्ययन अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ। स–साना घटनामा संलग्न भएकाहरूको समेत भिसा खारेज गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकामा एफ १, एम १ र जे १ भिसामा रहेकाहरू अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा रहेका हुन्छन्। यसमा सबैभन्दा बढी एफ १ मा रहेका विद्यार्थीको संख्या रहेको छ। राष्ट्रपति डोनाल्ड जे ट्रम्प प्रशासनले लिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिका विरुद्वमा हुने गरेका प्रदर्शनहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीको सहभागिता देखिएपछि ट्रम्प प्रशासनले कडाइ गर्न थालेको हो।
भिसा रद्द गरिएकाहरूमा कानुनविपरीत काम गर्नेदेखि आपराधिक घटनामा संलग्न भएकासहित अमेरिकी नीतिको विरुद्धमा सामाजिक सञ्जालमा लेख्ने वा त्यस्ता आन्दोलनमा सहभागी भएकाहरू रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा रहेकाहरूले भिसाको प्रकारको आधारमा सातामा निश्चित घण्टा मात्र काम गर्ने अनुमति रहेको हुन्छ।
हालसम्म कति अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरिएको छ भन्ने यकिन र स्वतन्त्र पुष्टि नभए पनि यो संख्या करिब तीन सयभन्दा बढी पुगिसकेको सञ्चारमाध्यमहरूले जनाएका छन्। भिसा रद्द गरिएका विद्यार्थीमा नेपालीसमेत परेको बताइएको छ। भिसा रद्द गरिएकाहरूमध्ये कतिपयलाई तत्काल अमेरिका छाड्नसमेत भनिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।