दुर्गा प्रसाईँलाई थप ४ वटा मुद्धा लाग्ने

शनिबार, ३० चैत्र २०८१

काठमाडौँ – दुर्गा प्रसाईँलाई थप ४ वटा मुद्धा लाग्ने भएका छन् । राजद्रोह र संगठित अपराधमा म्याद थप भएर काठमाडौँ प्रहरी परिसरको हिरासदमा रहेको प्रसाईँलाई ज्यान सम्बन्धी कसुर, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रो र आगजनी सम्बन्धी मुद्धा लाग्ने भएका छन् । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा भएको क्षेतिको मुख्य जिम्मेवार ठहर गर्दै प्रहरीले अनुसन्धान थालेको छ ।

प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं गाडी चढेर भागेका थिए । त्यसैदिन प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर राणालाई पक्राउ गरेको थियो । प्रसाईं भने लामो समय फरार हुन भए । अन्ततस् अहिले उनी प्रहरी हिरासत पुगेका छन् । प्रसाईंविरुद्ध शुक्रबार राज्य द्रोहविरुद्धको कसुर र संगठित अपराधको कसुरमा अदालतबाट म्याद थप भएको छ ।

ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको आरोपमा प्रसाईंविरुद्ध ड्युटीमा खटिएका प्रहरीले निवेदन दिने तयारी गरेका छन् । जसका कारण उनलाई ज्यानसम्बन्धी कसुरदेखि ज्यान मार्ने उद्योगसम्मको मुद्दा चल्नेछ ।मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीमाथि म्याद थप भएको छ ।

संहिताको दफा ५० राजद्रोहको कसुरबारे उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन,’ उल्लेख गरिएको छ ।