ठगहरूले पैसा ठग्ने नयाँ तरिका, ह्वाट्सएपमा आएको एउटा फोटो क्लिकले गुम्यो २ लाख

सोमबार, १ बैशाख २०८२

काठमाडौँ – ठगहरूले पैसा ठग्ने नयाँ तरिका अपनाएका छन् । उनीहरुले मेसेजिङ एप ह्वाट्सएपमा फोटो पठाइ डाउनलोड गर्न लगाउने र सो फोटोमा क्लिक गरेको भरमा प्रयोगकर्ताको व्यक्तिगत विवरणहरू प्राप्त गरी बैंक तथा डिजिटल वालेटको पैसा चोर्ने गरेको तथ्य खुलेको छ ।

अपरिचित व्यक्तिले पठाएको फोटो नखोल्न अनुरोध गरिएको छ ।  हालै भारतको मध्य प्रदेशको जबलपुरमा एक व्यक्तिले अज्ञात नम्बरबाट ह्वाट्सएपमा आएको एउटा फोटो डाउनलोड गरेपछि करिब २ लाख भारु गुमाएका छन् । यस घटनाले साइबर ठगीको नयाँ तरिकाको बारेमा खुलासा गरेको हो ।

ह्वाट्सएप इमेज स्क्याम  (WhatsApp image scam) एक नयाँ प्रकारको साइबर ठगी हो, जसमा ठगहरूले ह्वाट्सएप वा अन्य मेसेजिङ एपमार्फत फोटो पठाउँछन् । यी फोटोहरूमा मालवेयर लिंकहरू हुन्छन्, जसलाई स्टेगानोग्राफी (Steganography) भनिन्छ । यो डिजिटल फाइलहरूमा डेटा लुकाउने प्रविधि हो ।

जब प्रयोगकर्ताले त्यस्तो फोटो डाउनलोड गर्छन्, उनीहरूको फोन क्र्याश हुन सक्छ वा सुरक्षाका हिसाबले कमजोर बन्न सक्छ । जसले ठगहरूलाई संवेदनशील जानकारी जस्तै ओटीपी, बैंक विवरण, वा डिजिटल वालेटका विवरणमा पहुँच दिन्छ।

केही ठगहरू फोनमार्फत पीडितसँग सम्पर्क पनि गर्छन्, तस्बिरको बारेमा सोधपुछ गर्छन् । ताकि तस्बिर खोलिएको कुरा सुनिश्चित गर्न सकियोस् । यो नयाँ प्रकारको स्क्यामले पुरानो फिशिङ लिंक वा नक्कली एप जस्ता विधिहरूलाई पनि माथ खुवाउन सक्छ ।