राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा राजावादी आन्दोलनमा सहभागी नहुने

शुक्रबार, ५ बैशाख २०८२

काठमाडौँ – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा राजावादी आन्दोलनमा सहभागी नहुने भएको छ । बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसम्शेर राणा पक्राउ परेपछि राप्रपाले नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ र दुर्गा प्रसाईं नेतृत्वको अभियानमा सहभागी नहुने निर्णय गरेको छ ।

शुक्रबार जारी विज्ञप्तिमा यस्तो अभियानमा जोडिएका नेता कार्यकर्तालाई कारवाही हुने जनाइएको छ । राप्रपाले राष्ट्रवादी विचार भएका दल, अभियान र समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने भए पनि त्यस्ता दल, अभियान वा समूहमा नमिसिने निर्णय गरेको हो ।

यो निर्णयलाई लिएर अहिले पार्टीका कतिपय नेताहरूले आलोचना गरेका छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिुमा सक्रिय थिए। उक्त समितिमा मिश्र सदस्य सचिव र राणा आन्दोलन परिचालन समिति प्रमुख थिए।

राप्रपाले अन्य अभियानका समितिमा लागेको पाइए स्वत: पार्टीको पदबाट हट्ने निर्णय गरेकोले मिश्र र राणाको पद के हुन्छ भन्ने चासोसमेत कतिपयलाई छ।

राप्रपाले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि निर्णयबारे जानकारी दिन जारी गरेको विज्ञप्तिको १ (छ) बुँदामा लेखिएको छ, ‘राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नरहने केन्द्रीय कार्यसम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्यसमितिलाई जानकारी गराउने।’

प्रवक्ता मोहन श्रेष्ठले पार्टीको कुनै पदमा वहालवाला नेता अन्य दल वा अभियान तथा समूहमा रहेर त्यसको कार्यसमितिमा रहेका खण्डमा स्वतस् राप्रपामा रहेको पद जाने यसअघि नै गरेको व्यवस्थालाई सबै कार्यसमितिमा पुन: जानकारी गराउने निर्णय भएको बताएका छन् ।

नवराज सुवेदी नेतृत्वको समितिको निर्देशक समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि छन्। तर सुवेदी नेतृत्वले गरेको कुनै पनि कार्यक्रममा लिङ्देन सहभागी छैनन्।