गृह जिल्ला पुगेका योगेश भट्टराईलाई शौचालयमा थुनियो

शनिबार, ६ बैशाख २०८२

काठमाडौं – नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षा दिन प्रहरीले शौचालयमा थुनेको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ ।

शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका उनलाई ‘नो केबलकार’ समूहले घेरा हालेका थिए ।

नेता भट्टराई सिंढी चढेर शौचालय प्रवेश गरेका थिए । त्यसपछि उनीविरुद्ध नाराबाजी सुरु भएको स्थानीयले बताएका छन् । आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएका थिए ।

ताप्लेजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार नेता भट्टराई आफैं शौचालय गएका थिए । आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भीडलाई तितरबितर गरेका थिए । चर्को नाराबाजीका बीच प्रहरीले नेता भट्टराईलाई हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको स्थानीयले बताएका छन् ।