देउवाको सुरक्षामा खटिएको सुरक्षाकर्मीको टिम फिर्ता

शनिबार, ६ बैशाख २०८२

काठमाडौँ – सरकारले कांग्रेस सभापति शेरबहादुर देउवाको सुरक्षामा खटिएको सुरक्षाकर्मीको टिमलाई फिर्ता बोलाएको छ । एकजना सिपाहीबारेक सशस्त्रका इन्सेपेक्टर सुरज बस्नेतसहितको सेटलाई फिर्ता बोलाएर सशस्त्र प्रहरी हेडक्वाटरले नयाँ सेट पठाएको हो ।

राजनीतिक भेटघाटको क्रममा सूचना लिक भएपछि उनीहरुलाई फिर्ता बोलाएको बताइएको छ । एक महिने बसाइ सकेर पोखराबाट निर्मल निवास फर्कनासाथ सशस्त्रको सुरक्षा टोली फेराइमा पूर्व राजा परेको केही दिन नबित्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यसको शिकार भएका हुन् ।

स्रोतका अनुसार एकजना सिपाहीबाहेक करिब २५ जनाको टोलीलाई हलचोक फिर्ता गरेर नयाँ टोली पठाइएको छ । यसअघि कमान्डर मात्रै फेरिन्थे । तर, पहिलोपटक तलैसम्मको सेट फेरिएको हो । एकजनाले गल्ती गरे उसलाई जिम्मेवार बनाउनुपर्नेमा बूढानीलकण्ठले सशस्त्रको सेटै फेरेको हो । सशस्त्रले यो कदमलाई नियमित वा आकस्मिक केही भनेको छैन । तर,सत्ता राजनीतिमा हलचल भइरहेका बेला बूढानीलकण्ठले सुरक्षा टिम फेर्नुलाई अर्थपूर्ण मानिएको छ ।

हलचोकले एसपी देवराज अर्याल नेतृत्वको सशस्त्र प्रहरी बल विशेष सुरक्षा कार्यदलबाट भिआइपीहरूको सुरक्षाका लागि अवस्था हेरी इन्सपेक्टर या डिएसपीको कमान्डमा १५ जनाको टोली खटाउने गरेको छ । तर त्यो संख्या २५ जनासम्म पनि पुग्छ । देउवा निवासमा भने २५ कै संख्यामा सशस्त्र प्रहरी तैनाथ थिए ।

यसअघि चैत १५ मा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गरिएको थियो। सशस्त्र प्रहरीले पूर्वराजाका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।