कविता : आमाको भारी
भारी बोकी आमा हिँड्थी रे उकाली ओरालीमा
एकदिन भारीसँगै बिसाए रे मलाई चौतारीमा
त्यही चौतारोमा उभी आमा कुर्दै होली
कुर्दै पुछिए रे सिन्दुर, फेरिएछ रे चोली
लौरो भाँचिएछ रे, टेवा बन्न सकिनँ
आमाको निधारमा खुसी लेख्न सकिनँ ।
गुँरास हेरी भिरैभरी, डर मान्यौ झर्ला भनी
सानो हुँदा छोराछोरी, पिर मान्यौ मर्ला भनी
नबोल्दा, पिर मानी, देवी भाके घरी घरी
जब बोलेँ, धेरै बोलेँ, चोट दिएँ छातिभरी
अक्षता मुछिएछ रे, टिका थाप्न सकिनँ
आमाको निधारमा खुसी लेख्न सकिनँ ।
फर्के होला वस्तुभाउ, मुरलीको तिरिरीमा
मै मात्र फर्किन कि, आमा रुँदा पँधेरीमा
धिकार्यो कि कोखलाई सुन्य जब काखै छ
नपाए नि बाँझै, पाए नि छोरो बाँझै छ
आँखा मैलाएछ रे, गीता पढ्न सकिनँ
आमाको निधारमा खुसी लेख्न सकिनँ ।