प्रधानमन्त्रीलाई कान समातेर उठबस गराउन माग

मंगलबार, ९ बैशाख २०८२

काठमाडौँ – प्रधानमन्त्रीलाई कान समातेर उठबस गराउनुपर्ने माग जोडतोडले उठेको छ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै काम गर्न नसके कान समातेर सयपटक उठबस गर्नेगरी वाचा गराएर मात्र प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् । त्यसो गर्न नसक्नेहरु प्रधानमन्त्री बन्न लायक नहुने गौतमको तर्क छ ।

आज दिउँसो बसेको बैठकमा बामदेवले  मुलुकको समस्या समाधान गर्न नसक्ने व्यक्तिलाई प्रधानमन्त्री मान्न नसकिने पनि प्रष्ट पारे । प्रधानमन्त्री ओलीकै कारण ‘घर न घाट’को बनेका गौतमले पिउने पानीदेखि विद्यालयसम्मका समस्याबारे सरकार बेखबर रहेको पनि बताए ।

दुरुपयोग भइरहेका सार्वजनिक जग्गालाई राष्ट्रियकरण गरेर विकासको खाका कोर्नुपर्ने उनको भनाई छ । ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्‍यो, त्यसपछि बसेर योजना बनाउनुपर्‍यो’, गौतमले भने, ‘प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सयपटक उठबस गर्नेछु भनेर वाचा गराउनुपर्‍यो ।’

यदि समस्याको समाधान गर्न सकेनन् भने यीनिहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, यीनिहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ’, उनले थपे ।