पूर्वराजा ज्ञानेन्द्र शाहसले प्लेन चढेको झण्डै ५ करोड रुपैयाँ नतिरेको खुलासा

सोमबार, १५ बैशाख २०८२

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहसले प्लेन चढेको झण्डै ५ करोड रुपैयाँ नतिरेको पाइएको छ । नेपाल वायुसेवा निगमले २० वर्ष अगाडि अफ्रिका भ्रमण गर्दा भएको ४ करोड ८७ लाख ५६ हजार नतिरेका हुन् ।

शाहले सन् २००५ को नोभेम्बर १० देखि डिसेम्बर २ सम्म अफ्रिका भ्रमण गरेका थिए । निगमले पटक पटक उक्त रकम भुक्तानीका लागि आग्रह गर्दा पनि नपाएको बताइएको छ ।

शाहले तत्कालीन राष्ट्र प्रमुखका हैसियतले गरेको भ्रमणको आंशिक भुक्तानी अझै नपाएको ‘वायुसेवा निगमको वर्तमान अवस्थाको विश्लेषण र सुधारका उपायहरु नामक प्रतिवेदन’मा उल्लेख गरिएको छ ।

निगमले पटक पटक सरकारसँग उक्त रकम भुक्तानीको आग्रह गर्दा पनि नपाएको उल्लेख गरेको छ । निगमले २०७६ चैत १५ गते कोभिड महामारीको समयमा ओम्नी र नेपाल सरकारले भुक्तानी गर्नुपर्ने औषधी सामग्रीको भुक्तानीसमेत अझै नपाएको उल्लेख गरेको छ ।

कोरोना महामारीको बेला सरकारले ओम्नीसँग मिलेर औषधी ढुवानीमा अनियमितता गरेको आरोप लागेको र सार्वजनिक लेखा समितिले भ्रष्टाचार भएको भनेर ठहर भएको उक्त सामान ढुवानीको पनि निगमले अझै १ करोड ९४ लाख २२ हजार ७७४ रुपैयाँ पाउनै बाँकी रहेको उल्लेख छ ।

विश्वव्यापी कोरोना महामारीको बेला कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको थियो । तत्कालीन सरकारले ०७६ चैत ११ गते २४ घण्टे सूचना जारी गर्दै एक करोड तीन लाख ९४ हजार ४ सय अमेरिकी डलरमा औषधी तथा मेडिकल उपकरण खरिदको सम्झौता ओम्नीसँग गरेको थियो । उक्त सम्झौताअनुसार ओम्नीले चीनबाट २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो ।

सरकारले ओम्नीलाई २०७६ चैत १२ मा एक अर्ब २४ करोड रुपैयाँको औषधी खरिद गर्न गरेको सम्झौता अनुसार वायुसेवा निगमले तीन दिनपछि नै ९१५ चैतमा० सरकारको आग्रह अनुसार चीनबाट सामान ढुवानी गरेको थियो । उक्त सामान ढुवानी वापत निगमले पाउनुपर्ने १ करोड ९४ लाख रुपैयाँ पाउन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।