डेढ लाखमा अड्कियो सिके र रेशमको पार्टी एकता
काठमाडौँ – डेढ लाख रुपैयाँ तिर्न नसक्दा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणा रोकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकता घोषणासभा रखिएको थियो । तर, प्रतिष्ठानले हल बुकिङ नभएको भन्दै मूल ढोकामा ताला लगाएपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको हो ।
बताइएअनुसार हल बुकिङको जिम्मेवारी नाउपाको थियो । तर, उसका तर्फबाट अहिलेसम्म कुनै पत्र तथा खबर नआएको प्रतिष्ठान स्रोतले जानकारी दियो ।
एकता घोषणा कार्यक्रमको लागि पुगेका दुवै पार्टीका नेता–कार्यकर्ता अहिले प्रतिष्ठानको प्राङ्गढमा रोकिएका छन् । बुकिङको लागि सम्बन्धित पक्ष सम्पर्कमा नआएसम्म ढोका नखोलिने प्रतिष्ठानको अडान छ ।
‘खासमा २४ घण्टाअघि नै बुकिङ गर्नुपर्ने हो, तर अहिलेसम्म कुनै पत्र आएको छैन’, प्रतिष्ठान स्रोत भन्छ, ‘६ घण्टाको एक लाख ५० हजार र १० घण्टाको एक लाख ८० हजार हो, त्यो पेमेन्ट गरेपछि बल्ल ढोका खुल्छ ।’
पैसा तिरेर ढोका खोल्नुअघि नै नागरिक उन्मिुक्ति पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि आजका लागि एकता भाँडिएको छ ।