आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार

बिहिबार, १८ बैशाख २०८२

काठमाडौँ — मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् । आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा छोराले वुबालाई गोली प्रहार गरेका हुन् ।

गोली प्रहारबाट ५९ वर्षीय कान्छाराम थिङ घाइते भएका छन् । बुधबार बिहान ३५ वर्षीय इमानसिंह थिङले भरुवा बन्दुकबाट गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतले जनाएको छ ।

बिहान ८ बजे भएको घटनामा संलग्न इमानसिंह थिङलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको बन्दुक बरामद गरिएको  प्रहरीले जनाएको छ । घाइते कान्छारामको उपचार भइरहेको छ ।

बुवा र छोरा अलग बस्दै आएपनि आँगन साझा थियो । आफ्नो आँगनतर्फ बुवाले पालेको कुखुरा आएपछि विवाद भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीले अनुमति बिना बन्दुक राखेको भेटिएको छ ।