मेलम्चीको डिआई पाइपमा घोटाला, बढ्यो काठमाडौँ डुब्ने खतरा

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौँ – याङ्ग्री र लार्के मेलम्चीमा मिसिएपछि काठमाडौँ ल्याउने मुख्य मार्गको निर्माणमा प्रयोग भएको डिआई पाइपमा घोटाला भएको पाइएको छ । मेलम्ची खानेपानी आयोजना अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले निर्माण गरिरहेको सुन्दरीजलदेखि चावहिलसम्मको आयोजनामा विच्छ्याइने १८ सय र १६ सय डाइमिटरको पाइप खरिद गर्दा घोटाला भएको पाइएको हो ।

खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना र पिआईडीको सेटिङमा हुंसाई–कन्काई जेभी प्रा.लि.लाई ठेक्का दिएर घोटाला भएको आरोप लागेको छ । चिनियाँ कम्पनी हुंसाईको साँझेदार हुंसाई कन्काई जेभी प्रा.लि.ले चीनमै तयार भएको पाइप ल्याउने ठेक्का पाएको थियो । सम्झौतामा भए अनुसारको सामाग्री ल्याउनु पर्नेमा यो ठेकेदार कम्पनीले कमसल पाइप लिएर आएको हो ।

किरण वैद्य संचालक रहेको यो कम्पनीले खराव सामाग्री ल्याएको विषयमा पिआईडीमा समेत छलफल भएको थियो । प्रोजेक्ट डारेक्टरका रुपमा रहदा इन्जिनियर राजेन्द्र सापकोटाले यस विषयमा कुरा उठाएका थिए । तर पिआईडीमा जरा गाडेर बसेका आयोजनाका डेपुटी प्रोजेक्ट डाइरेक्टर विकेश श्रेष्ठ भनिने विकेश वाधन्गाछुयाले बसिखान नदिएपछि उनको सरुवा भएको थियो ।

पहिलो चरणमा पाइप विच्छ्याइएको सुन्दरिजल डब्लुटिपी, बागमती नदी सेक्सन, माइति नेपाल सेक्सन र विवि चोक क्षेत्रमा पानी हालेर लिकेज चेक गर्दा फेल भएको थियो । लिकेज फेल हुनुमा कमसल खालको पाइप प्रयोग भएको निश्कर्ष फिल्ड इन्जिनियरले निकालेका थिए । यो ठेकेदार कम्पनीले पेटी ठेक्का दिएको प्रकृति पुजन निर्माण एण्ड सप्लायर्सले पाइप विच्छ्याउने काम गरेको थियो । पाइप विच्छ्याएर पानी चेक गर्ने क्रममा पाइपको प्रेसर लिक भएको थियो । यो काममा पेटी ठेकेदारले जोडजाम गरेर काम सम्पन्न गर्दै कमिसिङ गर्न सफल भएको छ ।

यसअघि पनि लिकेज हुँदा पेटी ठेकेदार हैरान भएर काम छोडेका थिए । पाइपमा कैफियत देखिएर कम्पनीको कुर्तुत सार्वजनिक भएपछि आयोजनाको सम्पूर्ण काम किरण वैद्यको ठेकेदार कम्पनी आफैले गरिरहेको छ ।

कसरी भयो लिकेज ?

सुन्दरिजल डब्लुटिपी, बागमती नदी सेक्सन, माइति नेपाल सेक्सन र विवि चोक क्षेत्रमा पुजन निर्माण एण्ड सप्लायर्सले काम गरेको थियो । खन्ने, पाइप हाल्ने, जोड्ने र पुर्ने कामको ठक्का पाएको यो कम्पनीले आयोजनाका इन्जिनियरको रोहवरमा सबै काम गरेको थियो । आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियरले भनेअनुसार ठेकेदार कम्पनीले काम गरेको थिए । इन्जिनियरको रोहवरमा काम भएकाले पेटी ठेकेदार जनकराज घिमिरे काम सफल हुनेमा ढुक्क थिए ।

काम सम्पन्न भएपछि ट्याङ्करबाट पानी हालेर पम्पिङको काम गरियो । लिकेज भएको छ की छैन् भनेर चेक गर्दा पाइपको ठाउँठाउँका हेडबाट लिकेज भयो । लिकेज भएपछि पुनः खनेर पाइप निकालेर फेरि पाइप हालियो । काठ, ढुङ्गा र पाइपको मद्यतले डिआई पाइपको हेड कसेपछि लिकेज भएन् । अहिले पनि उक्त आयोजनाको पाँचदेखि ६ ठाउँमा बलियो काठले तल–माथि कसिएको छ ।

यो लिकेज हुनुमा कमसल खालको पाइप खरिद गरेका कारणले भएको पेटी ठेकेदारले आरोप लगाएको छ ।

के भन्छ निर्देशनालय ?

आयोजना कार्यान्वयन निर्देशनालयले पाइपमा कैफियत नभएको जनाएको छ । डेपुटी प्रोजेक्ट डाइरेक्टर विकेश श्रेष्ठले आयोजनामा प्रत्यक्ष जोडिएका इन्जिनियर शेखर खनाललाई यसबारे जानकारी हुने बताएपछि हामी उनलाई सम्पर्क गरेका थियौँ । खनालले पाइपमा कुनै पनि कैफियत नभएको जिकिर गरेका छन् । विभिन्न निकायमा चेकजाँच भएर आएकाले पाइपको क्वालिटीमा शंका गर्न नहुने उनको भनाई छ ।

उनले सुन्दरिजलमा भएको घटनामा पनि पेटी ठेकेदारका कामदारले काम गर्न नजानेपछि लिकेज भएको बताए । खनालले इन्जिनियरको रोहबरमा भएको काममा ठेकेदारको भाषा बोलेपछि विषय थप रहस्यमय बनेको छ ।

यता, पाइप सप्लाईको जिम्मा पाएका ठेकेदार किरण वैद्यसँग कुरा गर्न खोज्दा सम्पर्क भएन । ३० बर्षपछि काम लाग्ने योजनामा कमसल खालको सामाग्री प्रयोग हुनु गम्भीर विषय हो । आयोजना निर्देशनालयले यो विषयलाई गम्भीर रुपमा लिनुपर्छ ।