भारत–पाक युद्धः विश्वका शक्तिशाली देशले गरे आफ्नो कित्ता क्लियर
काठमाडौँ – भारत पाकिस्तान युद्ध सुरु भएपछि विश्वका शक्तिशाली देशहरु विभाजित भएका छन् । चीन र टर्कीले पाकिस्तानको पक्ष लिँदा साउदी अरब र इरान तटस्थ उभिएका छन् । इजरायल, फ्रान्स, अमेरिका र रूसले भारतको पक्ष लिँदै आतङ्कवादलाई परास्त पार्न सहयोग गर्ने वचन दिएका छन् ।
नेपालले पनि आतङ्कवादका विरुद्ध उभिदै भारतको पक्ष लिएको छ । बिहीबार विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले नेपालको आफ्नो कित्ता क्लियर गरेको हो ।
बिहीबार राति टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक्समा लेखे, ‘भारत र पाकिस्तानबीचको तनावबारे हामी चिन्तित छौं । यो युद्धमा परिणत हुन सक्छ ।’ उनले पाकिस्तानका नागरिकहरूलाई ‘हाम्रा दाजुभाइ’ भनेका छन् र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग कुराकानी गरेको जनाएका छन् ।
एर्दोआनले पहलगाम हमलाको अन्तर्राष्ट्रिय जाँच हुनुपर्ने बताएका छन्। टर्कीले पाकिस्तानकै लाइनमा समर्थन जनाएको देखिन्छ।
यद्यपि भारत र टर्कीबीचको व्यापार १० अर्ब डलर नाघिसकेको छ, तर पाकिस्तानसँग त्यो १ अर्ब डलर पार गर्न पनि मुश्किल छ।
साउदी अरबका विदेश राज्यमन्त्री अदेल अल—जुबैर बिहीवार भारत पुगे। उनले प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेट गरे ।
उनको यात्रा अघोषित थियो । त्यही बेला इरानका विदेशमन्त्री सैयद अब्बास अरागची पनि भारत आएका थिए । उनी यसअघि पाकिस्तान गएका थिए ।
जयशंकरले एक्समा लेखे, ‘आतंकवादको दृढतापूर्वक सामना गर्ने भारतको दृष्टिकोण साउदी मन्त्रीसँग साझा गरियो ।’
साउदीले पहिले नै दुबै देशलाई संवाद गर्न अपिल गरेको थियो ।
अतीतमा साउदीले पाकिस्तानलाई युद्धका बेला तेलसमेत निःशुल्क दिएको थियो। तर अहिले ऊ तटस्थ देखिएको छ।
इरानले अतीतमा पाकिस्तानको समर्थन गरे पनि अहिले पहलगामपछिको तनावमा उसले कुनै पक्ष नलिएको देखिन्छ । इरानी विदेशमन्त्रीले भारतका उच्च नेताहरूसँग भेट गरेर चाबहार पोर्ट, व्यापार, तथा शान्ति र स्थायित्वबारे छलफल गरेका छन् ।
इरानले शान्तिका पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ ।
इजरायलले भारतलाई आत्मरक्षाको अधिकार भएको बताएको छ। फ्रान्स र रूसले पनि आतंकवादविरुद्ध भारतको समर्थन गरेका छन्।
चीनले भारतको कारबाहीमा चिन्ता जनाए पनि आतंकवादको निन्दा गरेको छ। अमेरिका पनि खुलेर आतंकवादको विरोधमा उभिएको छ।
निक्की हेली र ऋषि सुनकजस्ता नेताहरूले भारतको समर्थन गरेका छन्।